Cooperative Officer
Badri Prasad Tiwari
१.ऐतिहासिक पृष्ठभूमी
सहकारीताको इतिहास नेपाली समाजमा धेरै पहिले देखि कायम भएको देखिन्छ । ढिकुटी, पर्म तथा गुठीको रुपमा संचालित पूर्व सहकारीका स्वरुपहरु तत्कालिन अवस्थामा नेपाली समाजमा प्रचलित थिए । यिनै पूर्व सहकारीहरुलाई संस्थागत स्वरुप दिदै सहकारी प्रणालीलाई आर्थिक तथा सामाजिक विकासको आधारको रुपमा विकास गर्ने र ग्रामिण विकासको उपयुक्त र प्रभावकारी माध्यमको रुपमा सहकारी प्रणालीलाई उपयोग गर्ने अन्तर्राष्ट्रय प्रयासलाई नेपालमा समेत आत्मसात गर्ने क्रममा वि.सं. २०१० सालमा तत्कालिन योजना, विकास तथा कृषि मन्त्रालय अर्न्तगत सहकारी विभागको स्थापना भयो ।
सहकारी विभागको स्थापना पछि तत्कालिन श्री ५ को सरकारले सहकारी संघ÷संस्थाहरुको स्थापना र संचालन सम्वन्धी कार्य गर्न वि.सं. २०१३ मा कार्यकारी आदेश जारी गर्यो । उक्त आदेशले दिएको अधिकार अर्न्तगत रहि चितवनको वखानपुरमा वि.सं. २०१३ चैत्र २० गते नेपालमा पहिलो पटक पाँचवटा सहकारी संस्थाको स्थापना भयो । उक्त निर्देशिका पछि जारी भएका सहकारी संघ÷संस्था ऐन २०१६ तथा नियमावली २०१८ तथा साझा संस्था ऐन २०४१ बमोजिम सहकारी विभागले सहकारी संघ÷संस्थाहरुको दर्ता, नियमन तथा पवर्द्धन लगायतका कार्यहरु गर्दै आएको थियो । सोही सहकारी विभाग अन्तर्गत डिभिजन सहकारी कार्यालय ललितपुरको स्थापना २०६१ सालमा भएको हो ।
२. परिचय
नेपाल सरकारले देश विकासको प्रयासलाई अगाडी वढाउन स्थानीय स्तरमा नै स्वावलम्वनको भावना जागृत गराँउदै आर्थिक विकासको लागि जनसहभागिता परिचालन गर्ने आधारको रुपमा सहकारी संस्थाहरुको स्थापना, संचालन र नियमन लगायतका कार्यमा प्रत्यक्ष रुपमा नेपाल सरकारको आधिकारिक निकायको रुपमा सहकारी विभाग संलग्न रहेको थियो । वि.सं. २०४६ सालमा प्रजातन्त्रको पुनःस्थापना पश्चात सहकारी संघ÷संस्थाहरुलाई पनि जनता कै क्रियाशील सक्रियतामा नयाँ सोच र मान्यता अनुसार अगाडी वढाउनु पर्ने आवश्यकता महसुस भई सहकारी ऐन २०४८ तर्जुमा भई लागु गरियो ।
सहकारी ऐन २०४८ जारी भएपछि नेपालमा सहकारी मूल्य, मान्यता, भावना तथा सिद्धान्त अनुसार सहकारी संस्थाहरुको स्थापना र संचालन हुने कानूनी आधार निर्माण भयो । खुल्ला र प्रजातान्त्रिक वातावरणमा स्थानीय स्तरमा उत्पादन, उद्यमशिलता र नेतृत्व विकास गरी सदस्यहरुको आर्थिक, सामाजिक तथा सास्कृतिक विकासका लागि सहकारी संघ÷संस्थाहरुको पवर्द्धन, नियमन र विकास गर्ने कार्यमा नेपाल सरकारको आधिकारिक निकायको रुपमा कृषि तथा सहकारी मन्त्रालय सहकारी विभाग अर्न्तगत यो कार्यालय क्रियाशील रहेको छ ।
देशमा छरिएर रहेका स–साना पूँजी तथा सीपलाई एकत्रित गरी सहकारीताको माध्यमवाट आफ्नो आवश्यकता आफै पूरा गर्ने प्रकारका स्थानीय आर्थिक क्रियाकलाप वृद्धि गर्न सहकारी मूल्य, मान्यता र सिद्धान्त अनुरुप सहकारी संघ÷संस्थाहरुको स्थापना हुने वातावरण तयार गर्ने,
सीमान्त वर्गको वाहुल्यता रहेको दर्गम क्षेत्रसम्म आर्थिक, सामाजिक तथा साँस्कृतिक विकासको आधारको रुपमा सहकारी प्रणालीलाई पवर्द्धन गर्ने,
सहकारी प्रणालीलाई स्थानीय स्तरमा कृषि तथा गैह्र कृषिजन्य वस्तु तथा सेवाहरुको व्यावसायिकरण गर्ने माध्यमको रुपमा विकास गर्ने,
सहकारी अभियानलाई विधिसम्मत र सिद्धान्तनिष्ठ ढंगवाट संचालन गर्न सम्वन्धित पक्षलाई अभ्रिपेरित गर्ने,
गरीवी निवारणको राष्टीय लक्ष्य प्राप्तिका लागि प्रभावकारी संस्थागत संयन्त्रको रुपमा सहकारी संघ÷संस्थाहरुलाई परिचालन गर्ने ।